टिपर र भ्यानको ठक्कर हुँदा २ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रवार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुङ्गाना र उनका नौ वर्षीय छोरा निमेष ढुङ्गानाको मृत्यु भएको प्रहरीले जनाएको छ । निमेषको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र निशाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको प्रहरीले बताएका छन् ।
साथै भ्यानमा सवार एक यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राप्ती नगरपालिका–३ की धिरमाया वली रहेकी छिन । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
भ्यान चालक गल्छी–१ का राजकुमार ढुङ्गानाको अवस्था सामान्य रहेको प्रहरीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP