र्याप गायक आशीष राना ‘लाहुरे’ लाई ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, लाहुरेलाई पहिलो पटक आठ दिन र दोस्रो पटक १७ दिनका लागि म्याद थप गरिएको थियो । गत १४ पुसमा ब्राउन सुगर कारोबार गर्ने समूह सहित कास्की प्रहरीले लाहुरेलाई न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाहुरे र अरू ३ जनालाई पक्राउ गरेको थियो । लाहुरे चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन् । लाहुरे लागू औषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
अरू लागू औषधको दाँजोमा ब्राउन सुगर वा कोकिनमा कडा सजायको व्यवस्था छ । २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । अफिम, कोका वा सोबाट बनेको लागू औषधको सेवन गर्नेको हकमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । लागू औषध मुद्दामा कैद छुटको कानुनी प्रावधान छैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP