आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिसस विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । घरेलु मैदान दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ । खेल मङ्गलवार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पौने पाँच बजे सुरु हुनेछ । यसअघि शनिवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिसस लाई १–० गोलले पराजित गरेको थियो । शनिवारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ । पहिलो खेलको बदला लिने योजनामा मोरिसस देखिन्छ । दोस्रो खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गरेका छन् ।
शनिवार टिममा समेटिएका डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी आउट भएका छन् । उनीहरूको ठाउँमा मनिस डाँगी र दर्शन गुरुङ समेटिएका छन् । नेपाली टिमको कप्तानी किरण चेम्जोङले गरेका छन् । दशरथ रङ्गशालामा हुने खेल हेर्न दर्शकहरूसँग खोप कार्ड अनिवार्य हुनु पर्ने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP