पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जङ्गलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको मृत्यु भएको र १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खड्काको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
बरियारपट्टी सिरहाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं.को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गए राति ९ बजे ठक्कर दिएको थियो र बस सडक किनारमा पल्टिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक घारीबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । गढीमाई अस्पतालमा लालबन्दीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिँदा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि सिराहा पठाइएको छ । ७ जना लालबन्दी मोडेल अस्पतालमा उपचारपछि घर फर्किएका छन् । चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP