सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

दिप खबर
माघ १०, २०७८

मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।
सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए ।
घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताए । पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ ।
पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने माग गरे । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरीदिन आग्रह गरे । अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताए । उनले भने,‘ घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।’
सामुहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै परार छन् ।
घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP