कैलालीमा प्रहरीले नै मोबाइल चोरी गरेका छन् । धनगढी उपमहानगरपालिकाको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सिसिटिभी क्यामराको भिडियो फुटेज सार्वजनिक भएको हो ।
लागु औषध खानतलासीमा गएका प्रहरीले लागू औषध र ३ जनालाई नियन्त्रणमा लिएको र मोबाइल समेत चोरी गरेको भिडियो बाहिरिएको हो । १ ग्राम ५ सय ५० मिलिग्राम खैरो हेरोइन सहित धनगढी ५ का द्रोणबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पसल सञ्चालक सुवास रावलले भने प्रहरीले खानतलासी गर्ने भन्दै दुई वटा मोबाइल समेत चोरेको भन्दै भिडियो फुटेज सार्वजनिक गरेका छन् । उनले प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनाबारे छानबिन भइरहेको बताए । कार्यालयमा कार्यरत प्रहरी हवलदार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई हिरासतमा राखेर छानबिन थालिएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP