सुनसरी,इनरुवा\ दर्शकको भीडले बर्जू महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । कलाकार नआएपछि बर्जू तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीड तोडफोडमा उत्रिएको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो ।
पुस २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना सङ्क्रमण बढ्न थाले सँगै २७ गते महोत्सव बन्द गर्न पत्र दिएको थियो । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न आएका दर्शकहरू तोडफोड र आगजनीमा उत्रिएका थिए । सो क्रममा चार वटा भारतीय सवारीसाधनमा आगजनी भएको छ ।
भीड अनियन्त्रित बनेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरी कार्यालयले जनाएको छ । प्रशासनको निर्देशन बिना नै आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो । सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोशित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको प्रहरीले जनाएको छ । उक्त घटना बाट अनुमानित १ करोड ५० लाख क्षति भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP