स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैतसम्म कूल जनसङ्ख्याको ४० प्रतिशत नागरिक कोभिड–१९ को ओमिक्रोन भेरिअन्ट बाट सङ्क्रमित हुन सक्ने अनुमान गरेको छ । ४० प्रतिशत नागरिक भनेको अनुमानित कूल ३ करोड जनसङ्ख्यामध्ये एक करोड २० लाखमा सङ्क्रमण हुने हो । ‘ओमिक्रोन यही दरमा बढ्यो भने ४० प्रतिशत नागरिक सङ्क्रमित हुन सक्छन् । सोहीअनुसार नियन्त्रणको योजना बनाउने काम भइरहेको छ । समुदायमा सङ्क्रमण रोक्न सकियो भने मात्र कम हुनसक्छ ।’ मन्त्रालय उच्च स्रोतको भनाई रहेको छ ।
ओमिक्रोन भेरिअन्ट यसअघिका भेरिअन्ट भन्दा तीन गुणा बढी गतिमा फैलिने भएकाले यो धेरैमा सर्ने मन्त्रालयले अनुमान गरेको हो । सङ्क्रमित मध्ये ८० प्रतिशतमा सामान्य असर हुने, १५ प्रतिशत अस्पतालमा पुग्ने र ५ प्रतिशतमा जटिल असर हुने पनि मन्त्रालयको अनुमान रहेको छ । सङ्क्रमितको सङ्ख्या बढे पनि खोप लगाएका कारण जटिल स्थितिका बिरामी कम हुने र होम आइसोलेसनमा बस्नेको सङ्ख्या धेरै हुने मन्त्रालयको विश्लेषण रहेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारी भन्छन्, ‘प्रक्षेपण गरिएको कुरा सर्वसाधारणलाई भन्न मिल्दैन । यसले त्रास पैदा गर्ने हुँदा गोप्य हुन्छ,’ उनले भने, ‘कति सङ्क्रमित हुँदा रोकथामका लागि कति सामान चाहिन्छ भनेर तयारी गरेका छौँ ।’ साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नेपालीलाई अनिवार्य कोरोना विरुद्धको खोप लगाउन, सामाजिक दुरी कायम गरी अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP