आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल ऋद्धि सिद्धि पार्टी प्यालेसको हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका थिए । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधिहरूले उनीहरूको राजीनामा मागेका थिए।
निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । ‘ढिला उम्मेदवारी दर्ता हुँदा मतपत्र छपाइ गर्न ढिलाइ भयो, जसका कारण समयमै मतदान हुन सकेन’ एमाले अधिवेशन कैलालीका मुख्य निर्वाचन अधिकृत चक्रराज तिम्सिनाले भनेका छन् । कैलालीमा एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । रतन थापा समूहले राति नै भए पनि मतदान गरिनुपर्ने अडान लिएको थियो, भने चन्दपक्षले भोलि बिहानदेखि मात्रै मतदान हुनुपर्ने अडान राखेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP