नेकपा एमालेको धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरू कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रवार देखी जारी अधिवेशनमा अध्यक्षका दाबेदार तामाङ, राई र आङ्लाले आकाङ्क्षा राखेको भए पनि उनीहरूलाई क्रमशः उपाध्यक्ष, सचिव र उपसचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । जिल्ला अधिवेशनमा ७ वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइने जनाइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP