सुनसरीमा २२ हजार ६ सय ९३ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियान अन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्या मध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् ।
जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन मंसिर १७ गतेदेखी पुष १९ गते सम्म संचालन भएको थियो । पहिलो चरणको मंसिर १७ गतेदेखी पुष २ गते सम्मको विशेष कार्यक्रम अन्तर्गत १० हजार ३ सय २४ जना मतदाता थपिएका हुन् ।
थपिएका मध्ये इटहरीमा ३ हजार ६ सय ६२, रामधुनीमा १ हजार ६ सय ६५, देवानगन्जमा ६ सय ६५, बर्जमा ७ सय ८१ र भोक्राहानरसिंहमा १ हजार १ सय ५० गरी कुल ७ हजार ९ सय २३ छन् । पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरुमा २ हजार ४ सय १ जनाले नामावली दर्ता गराएका छन् ।
त्यस्तै पुष १ गते देखि १९ गते सम्म भएको दोस्रो चरणमा १२ हजार ३ सय ६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीयतह दुहवीमा १ हजार ५सय ९० जना, बराहक्षेत्रमा २ हजार १ सय ५९ जना, कोशीमा १ हजार ३ सय ८३ जना र गढीमा १ हजार ४ सय २८ जनाले नामावली दर्ता गराएका हुन् ।
दोस्रो चरणको समयअवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत ५ हजार ८ सय ९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरी जिल्लामा १२ वटा स्थानीयतह रहेका छन् ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचन आयोगले देशैभरका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन शुरु गरेको हो । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेबाट स्थानीय तहको केन्द्रमा पनि नामावली संकलन गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP