फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला पारेका अन्तर्राष्ट्रिय समाचारले बताएको छ । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ । बेलायतमा पनि यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् ।
शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन । हालसम्म १२ जनामा आईएचयू भेरियन्टको सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय समाचारले उल्लेख गरेको छ । समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले कोभिड–१९ का विद्यमान खोप छल्न सक्छ वा सक्दैन भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
आईएचयू भेरियन्ट ओमिक्रोन झैँ तीव्र गतिले नफैलिएको पनि अन्तर्राष्ट्रिय समाचारमा उल्लेख गरिएको छ । आईएचयू ओमिक्रोनभन्दा के–कति सङ्क्रामक छ र खोपलाई छल्न सक्छ वा सक्दैन भनेर हालसम्म प्रस्ट भई नसकेको र विश्व स्वास्थ्य सङ्गठनले समेत आईएचयू भेरियन्टलाई आफ्नो अनुसन्धानको दायरामा राखेको छैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP