प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् ।
धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफुँ गम्भीर रहेको बताए । करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचन समेत दिए ।
उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पुर्वान्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताए ।
त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए ।
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले आग्रह गरे । देउवाले भने ‘धरानमा काँग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको सुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु,। ’
सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको पनि बताए । उनले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताए । देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन । एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो ।’
उनले नवनिर्मित नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन समेत गरे । त्यस्तै फोहोर मैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अवलोकन गरेका छन् । धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको थियो ।
गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ । धरान आधुनिक शहरको जग वि.स.१९५७ सालमा सुरु भएको बताइन्छ । सोही अवसरमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो ।
त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान डे मनाउँदै आएको छ । पुष २० गते आधुनिक धरान सहर स्थापनाको १२१ औँ वर्ष पुग्दै छ
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP