कञ्चनपुरकी १३ बर्सिया निर्मला पन्तको हत्याको आशङ्कामा एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । साढे दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या गरिएको ठाउँ नजिकै तरकारी खेती गरेका भारतीय नागरिक निकार अली शङ्काको घेरामा तानिएपछि प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ ।
ती भारतीय त्यति बेलादेखि नै कन्चनपुरबाट हराइरहेको हुनाले उनी आशंकाको घेरामा परेको प्रहरीले जनाएको छ । उनको डिएनए परीक्षणपछि मात्र यस विषयमा थप अनुसन्धान गर्ने प्रहरी तयारी रहेको छ । आफ्नो प्रारम्भिक बयानमा चाहिँ ती युवाले घटनामा संलग्नता भएको विषयमा इन्कार गरेका छन् । तर, यी युवाले निर्मलालाई त्यति बेला जिस्काउने गरेको बयान त्यहाँका स्थानीयले दिएका थिए ।
भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका अलिको विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि नमुना पठाइएको प्रहरी स्रोतले बताएको छ । तर रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP