सिके राउतको नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै फेरी एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले हिमालय सुगरमिल्समा उखु पुराएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन । सो ट्रकका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै जनमत पार्टीका कार्यकर्ताहरूले ट्रकमा पेट्रोल छर्केर आगजनी गरे पछि ट्रक पुर्णरुपले जलेको छ । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मिथिला नगरपालिका– ९, धनुषाका साहले पाँच कट्ठा जमिन बैङ्कमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेको बताए । विजय साह आफैँ ट्रक धनी रहेका छन् । त्यही ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाएका साहको ट्रक नै आगजनी भएपछि चिन्तित बनेका छन् । बन्दका क्रममा जनमतका कार्यकर्ताहरू छापामार शैलीमा सडकमा आई गाडी तोडफोड र आगजनी गरिरहेका प्रहरीले जनाएको छन् ।
यसअघि पनि जनमत पार्टीका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए । जनमत पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चित कालीन तराई मधेसको दिवाकालीन सडक जाम आह्वान गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP