इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्तीमा मुसहर समुदाय नै बस्न मानेनन्

दिप खबर
पुस १५, २०७८

तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो ।

बहुवर्षीय सडक अन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा तयार गरिएको थियो । तर यी संरचना दुई वर्षदेखि खाली छन् ।

निर्माण कार्य सके पनि मुसहर समुदायका परिवार यहाँ बस्न मानेका छैनन् । मुसहर समुदायका काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने तयारी गरेको थियो । स्थानीय सरकारले नसोधी घर बनाएको तथा काम गर्ने कम्पनीसम्म पुग्न टाढा हुने भन्दै उनीहरू यहाँ जान मानेका छैनन् ।

आफ्नो बाउबाजे यहीँ जन्मेर यहीँ मृत्यु भएको भन्दै बाउबाजे बसेको ठाउँ छाड्न नमानेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । उनले आफूहरूलाई सरकारले घर निर्माण गर्नुअघि सल्लाह नगरेकोसमेत बताइन् । उनले गाईवस्तु जस्तो जतिबेला पनि आफ्नो ठाउँ छोड्न नसक्ने, अहिले बसेकै ठाउँमा व्यवस्थित गर्नसमेत आग्रह गरिन् ।

त्यस्तै भुटिऋषि देव पनि आफ्नो परिवार नयाँ घरमा जान नमानेको बताउँछिन् । सबै छोरा मान्छे सागर फिड्स कम्पनीमा ज्यालादारमा काम गर्ने भएकाले नयाँ घरबाट टाढा र अपायक भएको उनको भनाइ छ । उनले सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने तर सरकारले बनाएको नयाँ घरमा नजाने तर्क गरिन् ।

‘हामी यो ठाउँका ३० देखि ४० जना महिला पुरुष सागर फिड्समा काम गर्छौ । यहाँबाट नजिक पर्छ, तर नयाँ घरबाट दुई किलोमिटर टाढा पर्छ,’ चम्रु ऋषिदेवले भने, ‘सरकारले साइकल दिन्छु भनेको छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ । कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौं ।’ स्थानीय सरकारले घर निर्माणभन्दा पनि सुरुमै सल्लाह मागेको भए केही उपाय लगाउन सकिने तर अन्तिम अवस्थामा जानकारी गराएको नयाँ ठाउँमा जान नसकिने चम्रुको भनाइ छ ।

करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना फेल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने इटहरी उपमहानगरपालिका अलमलमा छ ।

मुसहर बस्तीको परिवार बस्न नमानेपछि वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको छ । उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अति विपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । उनले जुन वर्गका स्थानीयको घर छैन, उनीहरूलाई लगेर राख्ने तयारी भइरहेकोसमेत बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP