जनमत पार्टीका कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीका विभिन्न स्थानमा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध गरेका छन् । पार्टीले सञ्चालन गरेको किसान आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले आह्वान गरेको राजमार्ग बन्द कार्यक्रम अन्तर्गत सप्तरीका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध गरेको पार्टीका कार्यकर्ताहरूले बताएका छन् ।
माग पुरा नभएसम्म आन्दोलन चली रहने कार्यकर्ताहरूले बताएका छन् । सडकमै टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरूले बाटो अवरुद्ध बनाउँदा पूर्व–पश्चिम हिँडेका सवारी साधनहरू राजमार्गमा अलपत्र परेका छन् ।
जिल्लाको भारदह, ठेलिया, महुली, रुपनी लगायतका स्थानमा उनीहरू सडकमै बसेर, टायर बालेर सडक अवरुद्ध गरेका छन् । पार्टीबाट सञ्चालित किसान आन्दोलनका माग पूरा नभएसम्म अनिश्चित कालसम्म राजमार्ग बन्द जारी रहने जनमत पार्टी सप्तरीका सचिव थानेश्वर साहले बताए । उनले राजमार्ग अवरुद्ध गर्ने क्रममा एम्बुलेन्स, प्रेस, विद्यालय, ढुवानी लगायतका अत्यावश्यक साधनहरूलाई रोक नलगाइएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध रहेको र सम्झाई बुझाइ राजमार्ग खुलाउने प्रयास जारी रहेको बताए । राजमार्गमा ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी माधवप्रसाद काफ्लेले बताएको छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP