नेकपा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरूबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए । पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरू आयोजकका रूपमा प्रतिनिधि रहने उनले बताए ।
जिल्ला सल्लाहकार परिषद् र जिल्ला ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १०/१० जना प्रतिनिधि चयन हुने प्रचार प्रसार उपसमितिका संयोजक खतिवडाले बताए । उनका अनुसार जनसङ्गठनहरूबाट जिल्ला स्तरमा ५/५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासङ्घबाट २१ जना, मोरङ–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना, पिछडा वर्ग महासङ्घ ९ओबिसी० बाट ५ जना, दलित पार्टी सदस्यहरूको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुने छन् ।
जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक श्रोतका लागि पार्टी सदस्यहरूलाई मुख्य आधार बनाइ मोरङमा रहेका करिब ३५ हजार पार्टी सदस्यहरू प्रत्येकबाट ५०–५० का दरले अधिवेशन सहयोग रकम सङ्कलन गरिने र प्रतिनिधिहरूबाट ५०० र आयोजकबाट १ हजार शुल्क लिइने खतिवडाले बताए ।
‘वैचारिक गतिशील र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध सङ्गठन, एमालेको नेतृत्वमा संवृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते विराटनगरमा हुने अधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । । उनले भने,‘ सकेसम्म सर्वसम्मत, नभए निर्वाचन प्रक्रियामा १६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ ।’ अधिवेशनले पदाधिकारी सहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने अध्यक्ष पोखरेलले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP