नेपालमा कुनै व्यापार व्यवसाय गर्न आर्थिक मुख्य पाटो हो । हरेक व्यवसायीले सञ्चालन गरेका व्यापार व्यवसाय कुनैले आर्थिक स्तर मजबुत बनाएका छन् त कसैले व्यवसाय सञ्चालन गर्न जानेर होस या नजानेर आफ्नो गरिखाने बाटो नै बन्द भएको सयौँ उदाहरण छन् । कुनै व्यापार गर्न त्यसप्रतिको लगाव, मेहनत र ज्ञान हुनु जरुरी पर्छ ।
तर नेपालमै केही गर्छु भन्दाभन्दै विदेशी भूमिमा पनि लाखौँ युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन् । ज्ञान सिप दक्षता हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनीहरू बिदेसिन विवश हुन्छन् । तर यिनै कुरालाई आत्मसात गर्दै नेपालमै केही गर्छु भन्ने युवाहरूको ताँती पनि लामै छ । तिनै मध्येका एक हुन् इटहरीका राकेश श्रेष्ठ । श्रेष्ठले अहिले इटहरीको धरान लाइनमा गजुरमुखी सुनचाँदी व्यवसाय गर्दै आएको धेरै समय भएको छैन । तर उनले गरेको मेहनतकै कारण आज उनी एक सफल र उदाहरणीय युवा व्यवसायीका नामले चिनिएका छन् । सानै उमेर देखि लागेका राकेश कसरी सफल व्यवसायी बन्न पुगे अथवा समग्र विषयमा हामीले उनीसँग छोटो कुराकानी गरेका छौ ।
कति वर्ष भयो व्यवसायमा लाग्नु भएको ?
२०७३ भदौ ६ गत देखि सञ्चालनमा आएको हो । ५ वर्ष भयो ।
कस्तो रह्यो अनुभव ?
आफुँले गर्न चाहेको व्यवसाय भएकाले सन्तोषजनक नै छ ।
सुनचाँदी ब्यावसाय बढी आर्थिक लेनदेन हुने भएकाले अलि चुनौती त छ । तर पनि काम गर्दै गएपछि सबै कुरा सिकिँदै जाने हो । मेरो यस क्षेत्रमा इच्छा भएकाले अनुभवलाई सिकाईको रूपमा लिई यस व्यवसायलाई थप मजबुत र रचनात्मक तिर अगाडी बढ्ने दृढता लिएको छु ।
चुनौती कतिको छ ?
हेनुस् कुनै पनि व्यवसाय रिस्क फ्री हुन्छ भन्ने हुँदैन । अझ सुनचाँदी पेसा भनेको हाइ रिस्क हो । यस व्यवसायलाई चुनौती मान्ने हो भने जो कोहीले अङ्गाल्न गाह्रो हुन्छ । आर्थिक लगानी सुरक्षा सुनको आयात, राज्यले सुनचाँदी व्यवसायका लागि ठोस निर्देशिका जारी नगर्दा व्यापारीलाई थप चुनौती महसुस गरेको छु ।
किन यही पेसा अङ्गाल्नु भयो ?
मेरो हजुरबुवा ब्रिटिस आर्मी बुवा विभिन्न संघसंस्थामा काम गरेर धेरै वर्ष विदेश बस्नु भयो । तर मलाई आफ्नै देशमा अझ आफ्नै घर गाउँमा केही व्यवसाय गर्न मन भएकाले एसएलसि पढाई पछि नै सुनचाँदी व्यवसायलाई आफ्नो करियरको मुख्य बाटो देखेर लागेको हो । यसैलाई आफ्नो मिसन भिजन लाई फाइनल गर्न पुगेको हो ।
ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनु हुन्छ ?
मेरो भनाई के हो भने, ग्राहकले लाखौँको कारोबार गर्नु हुन्छ । कुनै कुरा चित्त नबुझे हामी सहज रूपमा उहाँको चाहना अनुसार बनाई दिन्छौँ तर गर्वका साथ भन्नु पर्छ, आज सम्म कुनै पनि ग्राहकले तेरो काम गराई भएन अब आउँदिन भन्नु भएको सुनेको छैन । मेरो पसलमा मैले खोलेदेखि आज सम्म निरन्तर कारोबार गर्दै आउनु भएको ग्राहक कयौँ हुनुहुन्छ ।
अब कसरी अघि बढ्ने सोचमा हुनुहुन्छ ?
इटहरी पूर्वकै चौरस्ता शहर त्यसमाथि पनि विकसित हुँदै गएको छ । बजारको राम्रो अवस्था रहेको र अवसरहरू प्रशस्त पाइने भएकाले उत्पादनमा बढी जोड दिएको छु । साथै ग्राहकको रोगाई अनुसार अझ बढी प्रकारका सुनचाँदीका आइटम थप गर्दै जाने तयारीमा छु । मैँले शिक्षा क्षेत्रमा पनि लगानी गरेको छु । अब छिटै नै कृषि क्षेत्रमा पनि केही गर्ने योजना छ ।
जो नेपालमा कुनै अवसर रोजगार नपाएर खाडी मुलुक जाने युवाहरू हुनुहुन्छ, उहाँहरूलाई के सन्देश दिनु हुन्छ ?
युवाहरू देशको मेरुदण्ड हो । आर्थिक, सामाजिक, विकास सुशासन समृद्धिको सम्भव जब सम्म देशको ठोस युवा जनशक्ति विदेश पलायन भइरहन्छन् तब सम्म हाम्रो सुन्दर देशले विकसित देश बन्नबाट वञ्चित हुन्छ । तसर्थ आफ्नै देशमा आत्मनिर्भर भई पौरखी बनी नयाँ योजना विचारका साथ नेपालमै बसेर आफ्नो परिवार इष्टमित्र साथीहरूसँग काम गर्न सकिन्छ । जसका लागि आर्थिक मात्रै भएर पनि हुँदैन जसका लागि जोसजागर, मेहनत र ज्ञान पनि हुनु जरुरी छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP