नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को नेतृत्व चयन टुङ्गो लाग्न सकेको छैन । प्रदेश सम्मेलनमा आकाङ्क्षी धेरै भएपछि अध्यक्षसहित पदाधिकारीको टुङ्गो लगाउन नसकेको माओवादीले पुस ७ गते बस्ने बैठक बोलाएको छ । यस अघि अध्यक्षका दोबदार आधा दर्जन थिए भने पछिल्लो समय दुई जना मुख्य दाबेदार देखिएका हुन् ।
प्रदेश अध्यक्षमा शिव डाँगी र हर्कबहादुर लावती (मिक्सो) अध्यक्षका दाबेदार हुन् । मोरङको विराटचोकमा मङ्सिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले अध्यक्षसहितको पदाधिकारी टुङ्गो लगाउन सकेको थिएन् । अधिवेशनमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), ईन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले दाबी गरेका थिए । तीन जनाले दाबी नछोडेपछि अधिवेशनले २७१ सदस्यमात्रै घोषणा गरेको थियो ।
माओवादीको प्रदेश उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी, झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवको दाबी छ । महिला उपाध्यक्षमा सङ्खुवसभाकी ईन्दिरा मिश्र र मोरङकी विनिता घिमिरेलगायत आकाङ्क्षी छन् । सचिवमा मोरङका गणेश उप्रेती, ओखलढुङ्गाका मोहनकुमार खड्का, सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुङ्गानाले दाबी प्रस्तुत गरेका छन् । कोषाध्यक्षमा सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।
माओवादी केन्द्र एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय प्रदेश पदाधिकारी चयन गर्नेछ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP