साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसनको नाममा दुई लाख सम्म लुट्ने गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आरोप लगाएका छन् । सुनसरी स्थित इटहरी १७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले नेपालमा दश लाखको काम निर्माण गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाख सम्म लुट्ने गरेको आरोप लगाएका हुन् ।
सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए । उनले भने ‘एकै चोटि कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्यो भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’
कमिसनबारे चर्को आलोचना गरेका नेता नेपालले सबै काममा ढिलासुस्ती भएकै कारण कुनै विकासको योजनाले गति लिन नसकेको बताए । कामको जिम्मा पाएका ठेकेदारलाई एडभान्स पैसा दिने चलनले पनि काममा अवरोध हुने गरेको उनको भनाई थियो । उनले देश पुरै सेटिङले बिगारेको बताए । ‘मेहनत गरेर खाने भन्दा पनि लुटेर खाने प्रवृत्ति छ । विदेश जान्छन्, पैसा कमाउँछन्, नेपाल पठाउँछन् । मिठो मसिनो खान्छन् नयाँ नयाँ किन्छन् । हामीले सेभिङ गर्न सकेनौँ ।’ उनले भने ।
त्यस्तै फरक प्रसंर्गमा एमालेले संसद् अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको उनले बताए । सर्वोच्च अदालतको फैसला भन्दा केपी ओली माथि नरहेको बताउँदै कुनै वैधानिक आधार नरहेको बताए ।
उनले केपी ओली आफुँ सर्वस्व ठान्दै गएका कारण आफ्नै पार्टी भित्रबाट आलोचनाको सिकार हुँदै गएको समेत बताए । ‘केपी ओलीले आफुँ भन्दा माथि कानुन छ, नीति नियम छ भन्ने सोच्नु पर्यो । पार्टी भित्रैबाट उहाँको आलोचना भइरहेको छ । उहाँमा चेत आओस्’ नेता नेपालले भने ।
संसदमा आजबाट हिउँदे अधिवेशन सुरु हुदैँछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघिल्लो अधिवेशनको पुरै अवधि संसद्को कामकारबाहीमा भाग लिएको थिएन ।
आफूँले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP