नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीव्र पारिएको छ । मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।
प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल) का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागिता हुनेछ ।
सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य सङ्ख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । सम्मेलनमा आयोजक समितिका ९७ जना, ज्येष्ठ कम्युनिस्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् ।
मोरङको विराटचौकको जेसिस भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिएका छन् । नयाँ प्रदेश नेतृत्वको विषयमा सहमति नभए निर्वाचन गरिनेछ ।
प्रदेश सम्मेलनबाट १७५ जनाको कार्यसमिति निर्वाचित हुनेछ भने झण्डै १ सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन् । राष्ट्रिय सम्मेलनको प्रतिनिधि केन्द्रले तोकेको ३० जना र १ हजार ५ सय पार्टी सदस्य बराबर एक जनाको दरले प्रदेश सम्मेलनले नै चयन गर्नेछ ।
प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको हुनेछ । समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि अनिवार्य हुने व्यवस्था माओवादीले गरेको छ। यस्तै प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP