सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा इटहरीमा बृहत साङ्गीतिक उत्सव हुने भएको छ । प्रतिष्ठानको २८ औँ वार्षिक उत्सवको अवसरमा मङ्सिर २१, २२ र २३ गते तिन दिने साधना सङ्गीत उत्सव २०७८ हुन लागेको हो।
प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना री कार्यक्रमको पहिलो दिन २१ गते दिनको ११ बजेदेखि विद्यालय तथा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका सामु अन्नपूर्ण च्याम्बर वाद्यवादन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताएको छ ।
नारायण गोपाल सङ्गीत कोष काठमाण्डौका ३५ जना बाद्यबादक सङ्गीतकर्मीहरूबाट अर्केस्ट्रा प्रस्तुति गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार प्रदेश १ सामाजिक विकास मन्त्री जयदेव यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रमको दोस्रो दिन (मङ्सिर २२ गते) बिहानको ११ बजे देखि १ बजे सम्म साहित्य उत्सव आयोजना गरिने केसीको भनाई छ । पूर्वका ख्यातिप्राप्त सर्जकहरूका रचनाहरू प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको उनले बताए। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको प्रमुख आतिथ्यता साँझ ४ः३० बजे देखि ७ः३० बजे सम्म सङ्गीतकर्मी, साहित्यकर्मी, विशिष्ट व्यक्तित्वको उपस्थितिमा साङ्गीतिक प्रस्तुतिको आयोजना गरिने केसीले जानकारी दिए।
तेस्रो दिन (अर्थात् मङ्सिर २३ गते) साँझमा ४ः३० देखि ८ बजेसम्म मुख्य मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा नारायण गोपाल साङ्गीतिक साँझको आयोजना गरिने भएको छ । स्वरसम्राट नारायण गोपालको ३१ औँ पुण्य तिथिको उपलक्ष्यमा साङ्गीतिक साँझ आयोजना गरिने भएको हो ।
सोही दिन नेपालका ख्याति प्राप्त गायक, गायिका याम बराल, भीषण मुकारुङ, राज सागर, जिना रसाइलीले प्रस्तुति गर्ने भएका छन् । सङ्गीत साधना प्रतिष्ठानका विद्यार्थीहरूले नारायण गोपालको गीत गाएर लाइभ प्रस्तुति दिने कार्यक्रम रहेको केसीले जानकारी दिए।
अन्नपूर्ण च्याम्वर अर्केस्ट्रा एवम् नारायण गोपाल सङ्गीत कोष उपत्यका बाहिर पहिलो पटक कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ । प्रतिष्ठानको प्राङ्गणमा निःशुल्क सञ्चालन हुने उनले जानकारी दिए।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP