चोरी गरेको आरोपमा कुटिएका धरानका २० वर्षीय युवा मृत फेला

दिप खबर
मंसिर १७, २०७८

मोरङको केराबारी गाउँपालिका–६ को मुगुमा २० वर्षीय अनिष कटुवाल शुक्रबार दिउँसो मृत फेला परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–६ पानमारा घर भएका उनी आज मृत फेला परेका हुन् ।

मोबाइल चोरी गरेको आरोपमा केराबारीको मुगु पुलनजिक युवाहरुको एउटा समूहले बिहीबार दिउँसो ४ बजेतिर अनिषलाई आक्रमण एवं कुटपिट गरेका थिए । कुटपिट गरेर घटनास्थलमै छाडिदिएपछि उनी नजिकै रहेको खेम लिम्बूको घरमा गएर सुतेको खुलेको छ । लिम्बूकै घरको कोठाभित्र अनिष मृत फेला परेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए ।

कोठाको भित्रबाट चुक्कुल लगाएर सुतेका उनी नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको बीसीले बताए । उनका अनुसार ४–५ जनाको संख्यामा रहेका युवाहरुले अनिष र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर केराबारीको मुगु पुलनजिक कुटपिट गरेको खुलेको छ । प्रहरीका अनुसार धरान नै घर भएका युवाहरुले दुवै जनालाई मुक्का, लात्ता र दाउराले कुटपिट गरेको पाइएको छ । कुटपिटपछि अनिषलाई घटनास्थलमै छाडेका युवाहरुले विशाललाई भने मोटरसाइकलमा राखेर लगेको प्रहरीको भनाइ छ । जबरजस्ती युवाहरुले लिएर गएको थाहा पाएलगत्तै प्रहरीले विशाललाई उद्धार गरेर पानमारा पुर्याएको थियो ।

चोरी भएको भनिएको मोबाइलको १७ हजार रूपैयाँ तिरिदिने कवुल प्रहरी कार्यालयमै गरेका विशालले साथमा रहेको ४ हजार रूपैयाँ भने दिएका थिए । बाँकी १३ हजार दुई सातापछि तिर्ने सर्त राखेपछि उनलाई प्रहरीले पानमाराकै विकास कटुवालको जिम्मा लगाएर घर पठाएको थियो । टिपर सञ्चालक रहेका विकास मृतक अनिषका काका हुन् । प्रहरीका अनुसार अनिष र विशाल दुवै जना विकासले सञ्चालन गर्दै आएको टिपरमा काम गर्ने युवाहरु हुन् । बाटोमा टिपर पर्खिएर बसिरहेका बेला ४–५ जना युवा आएर मोबाइल चोरी गरेको आरोप लगाउँदै दुवै जनामाथि एक्कासि कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विशालले भने मोबाइल चोरी नगरेको र आफूहरुमाथि पुनः कुटपिट हुनसक्ने डरका कारण पैसा तिरिदिने अवस्थामा पुगेको प्रहरीलाई बताएका छन् । तर बिहीबार आफूहरुमाथि कुटपिट गरिएको घटनाका बारेमा भने उनले प्रहरीलाई जानकारी गराएकै थिएनन् । सँगै कुटाइ खाएका साथी सुतेकै ओछ्यानमा मृत भेटिएपछि मात्रै विशालले अघिल्लो दिनको घटनाका बारेमा बताएको डीआईजी बीसीको भनाइ छ ।

बिसीले घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरेका छन् । कुटपिटबाटै अनिषको मृत्यु भएको हो कि हैनभन्ने बारेमा यकिन हुन बाँकी रहेको उनले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र घटनाको अनुसन्धान सकिएपछि मृत्युको वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्नमध्येका एक जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवाको नाम र ठेगाना भने खुलेको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP