नेपाली काङ्ग्रेस मोरङ सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित

दिप खबर
मंसिर १५, २०७८

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। डा.शेखर कोइरालानिकट लिम्बू पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको निर्वाचनमा भारी मतान्तरले विजयी भएका हुन्।

संस्थापन र संस्थापनइतर समूहसमेतको ‘घेराबन्दी’लाई तोड्दै विजयी भएका उनले १ हजार ९०६ मत ल्याए। मंगलबार राति सार्वजनिक भएको दोस्रो चरणको निर्वाचनको अन्तिम मत परिणाम अनुसार पार्टीको संस्थापन एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार दिलीप गच्छदारलाई लिम्बूले ४८१ मतान्तरले पराजित गरेका हुन्। गच्छदारले १ हजार ४२५ मत ल्याए। २५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए।

उनका अनुसार मंगलबारको निर्वाचनमा ३ हजार ३५६ मत खसेको थियो। पार्टीको १३औँ महाधिवेशनमा पनि लिम्बू पार्टीको मोरङ सभापतिमा निर्वाचित भएका थिए। त्यतिबेला देउवाको साथ पाएर पार्टीको जिल्ला नेतृत्वमा पुगेका उनी त्यसपछि भने डा. कोइरालाको पक्षमा खुलेका थिए।

कांग्रेस नेताहरुका अनुसार कोइराला पक्षीय उम्मेदवार लिम्बूविरुद्ध मोरङमा पार्टीका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला समूह एक ठाउँमा उभिएका थिए। नेता विजयकुमार गच्छदार र महेश आचार्यको समर्थन पनि दिलीप गच्छदारलाई नै थियो। डा. मिनेन्द्र रिजाल भने लिम्बूको पक्षमा थिए।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP