नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चित कालसम्मका लागी स्थगित भएको छ ।
आज (बिहीबार) बिहान ९ बजे देखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रमहरू स्थगन गरिएको जानकारी दिएका छन् ।
समयमै मतदान गर्न निर्वाचन स्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दे टिके प्रथा अन्त्य हुनु पर्ने माग गरे ।
निर्वाचन अधिकृत यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यको लागी उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकोले मतदान कार्य सुचारु गर्न नसकिएको हो ।
क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेको र नेताहरू विवाद मिलाउन छलफल गरिरहेको बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिकी उमेद्धार निर्मला चौधरीले तीन दिन देखि निर्वाचन हुने आसमा बस्न बाध्य भएको बताइन । उनले कसले के का लागि चुनाव हुन नदिएको समेत थाहा नभएको बताइन् ।
सुनसरी क्षेत्र नं ३ नेपाली काँग्रेसका नेता तथा उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यपालिका नै प्रभावित हुन पुगेको छ ।
गच्छदारले आफ्नो क्षेत्रमा सहमति अनुसार पूर्व लोकतान्त्रिक फोरमका उमेद्धारलाई क्षेत्रीय सभापति बनाउन लागि परेका थिए । तर कार्यकर्ता तथा जिल्लाका संस्थापन इतर समूहका नेताहरूले नमानेपछि निर्वाचनमा जान बाध्य भएका थिए ।
चुनाव एक दिन थप गरेर ८ गतेलाई तोकिएको थियो । तर उनले निर्वाचन समितिलाई पटक पटक समय थप गर्न माग राख्दै आएका थिए । आफ्नो क्षेत्रमा पछिल्लो समय गच्छदार कमजोर बन्दै गएका छन् । निर्वाचनमा संस्थापन इतर समूहका नेता जिते आफ्नो पक्ष कमजोर हुने देखिएपछि निर्वाचन नगराउन गच्छदार स्वयम लागेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP