दश वर्ष अघिको घटनामा दोषी ठहरिएका फरार आरोपीले आफ्नो मृत्युदर्ता बनाएर घरमै बसेको फेला

दिप खबर
मंसिर ७, २०७८

दश वर्ष अघिको डाँका मुद्दामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ ।

सुनसरीको साबिक चाँदबेला १ ९हाल इनरुवा ७० का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाण पत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।
फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो ।

तत्कालीन भादगाउँ सिनवारी – ६ ९हाल रामधुनी ५० बस्ने जैयस कुमार साहको घरमा २०६८ भाद्र १७ गते राती डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।
उनीहरू तीनै जनालाई जिल्ला अदालतले २०७५ असार ११ गते जनही ६ वर्ष कैद र ९९ हजार जरिवाना फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाण पत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।
उनले २०७४ पूस २७ गते आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

सुनसरी प्रहरीले अजितसँगै एकै दिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालतमा पेस गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए ।

लामो समय देखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा सुनसरीबाट ५६५ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट ११९ वर्ष ८ महिना ८ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुपैया जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP