प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका छन् ।
आज सुनसरीको देवानगन्ज गाउँपालिको नवनिर्मित भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नु भन्दा सहमतिबाटै निकास निकाल्नु पर्ने बताए ।
उनले सकेसम्म सहमति गर्न आग्रह गर्दै चुनाव गर्नै परे हारजितलाई सामान्य रूपमा लिन पनि आम कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने ‘पालिका, जिल्ला प्रदेश, केन्द्रमा तपाईँहरू नेतृत्वमा आउँदा सहमतिमा आउनुस् पार्टीलाई जोगाउनु छ, बलियो बनाउनु छ । त्यसैले एक अर्कामा द्वन्द्व सिर्जना नगर्नुस् । मिलेर आउनुस् ।’
प्रधानमन्त्री देउवाले सुनसरी खोलाका कारण बर्षौ देखि डुबानमा पर्दै आएका जनतालाई जोगाउन आगामी वर्षको बजेटमा समेट्ने आश्वासन बाँडे । देवानगञ्ज गाउँपालिका छिमेकी देश भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उनले खुल्ला सिमाना भएकै कारण नेपालको धेरै राजश्व गुमेको बताए । त्यस नाकालाई व्यवस्थित गर्न आगामी दिनमा राज्यले थप पहल गर्ने समेत बचन दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP