नेपालबाट भारत तर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।
सुनसरी जिल्लाको देवानगञ्ज ४ नेपाल भारत सिमानामा ट्याक्टरको टली भित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागको १८० केजी गाँजा बरामद गरेको हो । गाँजा सहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।
उनका साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ । नेपाली बजारमा प्रति केजी १३ हजार माथि खरिद बिक्री हुने गरेको छ । भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ ।
कसरी पक्राउ गर्न सफल भयो प्रहरी
बुधवार दिउँसो करिब १ बजे देवानगञ्ज ४ नेपाल भारत सिमाना नजिक प्रहरीको चेकिङ थियो । स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक सन्तोषकुमार मेहता मोटरसाइकलमा अगाडी चेकिङमा रहेका प्रहरीलाई पछाडि आउँदै गरेको ट्याक्टर भारतमा पराल ल्याउन जानु पर्ने छ, छाडी दिनु पर्यो भन्दै आग्रह गर्छन् ।
प्रहरी सँग कुराकानी गरी रहेको अवस्थामा पछाडि गाँजा बोकेर आउँदै गरेको ट्याक्टरका चालकले इन्जिन खोली ट्रली त्यही छाडी इन्जिन मात्र लिई भाग्छन् । ट्याक्टर चालक भागेको देखेर मोटरसाइकलमा रहेका मेहता पनि भाग्न खोज्छन् । ट्याक्टर चालक भागेपछि प्रहरीले किन भाग्यो भन्ने खोजतलास गर्छ । प्रहरी ट्याक्टरको ट्रली चेकजाँच गर्न थाल्छ ।
चेकजाँच गर्दा ट्रली भित्र गाँजा लुकाउन गोप्य रूपमा फल्स बेस बक्स बनाएको थाहा हुन्छ । बेस बक्सको नट बल्टु खोली हेर्दा भित्र सेतो रङ्गको प्लास्टिकको ९० पोका गाँजा प्रहरीले फेला पर्छ । तौल गर्दा प्रत्येक पोकाको तौल २ केजी रहेको प्रहरी बताउँछ ।
इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक बद्रीविक्रम दाहालको कमाण्डमा ट्याक्टरको इन्जिन खोजी गर्दा देवानगन्ज – ४ कौवाखोज स्थित वासको झाङमा लुकाई राखिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका मेहता विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP