ओखलढुङ्गाको चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । एकादशि बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं.१० रुप्सेका वर्ष ३५ का मिठुमाया मगर, सोही स्थानका वर्ष १७ की तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीय शान्ता मगरलाई उपचारका लागि अस्पताल लादैं गर्दा बाटैमा मृत्यु भएको छ ।
बोलेरो सुनकोशी गाउँपालिका वडा नम्बर ९ को जौबारी भन्ने स्थानमा सडकबाट करिब सय मिटर तल खोल्सामा झरेको वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।
घटनामा परि १३ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्थायी हेल्थ युनिट कोषहाटमा उपचार गरी थप उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गामा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP