नेकपा एमाले सुनसरीले १० औं महाधिवेशनको जिल्ला प्रतिनिधि छनौट गर्ने कार्ययोजना तथा कार्यतालिका पारित गरेको छ ।
अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको पदाधिकारीहरुको बैठकले महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका र कार्ययोजना पारित गरेको हो ।
एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैछ । उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटको लागि कार्यतालिका बनाएको एमाले सुनसरीले पार्टी सदस्यता नवीकरणको मौकासमेत दिने निर्णय गरेको छ । जिल्ला कमिटीले निर्णयबारे सर्कुलरसमेत पालिका कमिटीहरुलाई पठाइसकेको छ ।
खास गरि सदस्यता नवीकरण गर्न शुल्क तिरिसकेको तर जिल्ला पार्टी कार्यालय र केन्द्रमा आवश्यक कागजात नबुझाएको कारण नवीकरण अद्यावधिक नभएकाहरुलाई पनि एक पटक अवसर दिने निर्णय बैठकले गरेको छ ।
नवीरकणको शुल्क तिरेर रसिद काटिसकेकाहरुको नाम र शुल्क संकलन कसैले वा कुनै कमिटीले बैठकको निर्णय अनुसार कार्तिक १२ गते दिउँसो २ बजेसम्म जिल्ला पार्टी कार्यालयमा बुझाए उनीहरुले प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने बैठकले निर्णय गरेको छ ।
पार्टी जिल्ला कार्यालयको अभिलेखमा नाम उल्लेख नभएका सदस्यहरुले छनौट प्रक्रियामा भाग लिन नपाउने पनि बैठकको निर्णय छ ।
एमाले जिल्ला अध्यक्ष भण्डारीका अनुसार कार्तिक २३ गते दिउँसो १ बजे नवीकरण भएका मतदाता नामावली प्रकाशित हुनेछ भने कार्तिक २४ गते महाधिवेशन प्रतिनिधि उम्मेदवारी दर्ता जिल्ला कार्यालय इनरुवामा हुनेछ ।
उम्मेद्वारको अन्तिम नामावली कार्तिक २५ गते बेलुका ६ बजे प्रकाशित हुनेछ । कार्तिक २७ बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म तोकिएको मतदान केन्द्रमा नवीकरण भएका सदस्यहरुले मतदान गर्नुपर्ने तालिका छ । विभिन्न निर्वाचन क्षेत्रको पालिका वा वडाका सदस्यहरुले गर्ने मतदान केन्द्रबारे कार्तिक २४ गते पार्टी जिल्ला कार्यालयले प्रकाशित गर्ने पनि अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP