नेकपा एमाले इटहरी उपमहानगर कमिटीको पदभार तथा शपथ ग्रहण सम्पन्न भएको छ । आज सोमबार एक कार्यक्रम गरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पदभार ग्रहण गराइएको हो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य धर्मराज निरौलाले शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा बोल्दै निरौलाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरे । उनले सुनसरीका प्रत्येक टोल तथा वडामा प्रशिक्षण गराउँदै पार्टीलाई एकता तर्फ लैजान सबैलाई आग्रह पनि गरे ।
इटहरी उपमहानगर कमिटीमा अध्यक्ष याम कुमार सुब्बा, उपाध्यक्ष दुखीलाल चौधरी सर्व सहमत चयन भएका थिए । अन्य पदका लागि गत शनिवार निर्वाचन भएको थियो । निर्वाचनबाट सचिवमा रुपेश बस्नेत, उपसचिव जितेन्द्र थापा र मन्दिरा भट्टराई चुनिएका थिए । कमिटीमा ८५ जना सदस्य रहेका छन् ।
भीम आचार्य पक्ष जिल्लामा लचिलो बन्दै
सुनसरी जिल्लामा पार्टीको विवाद आज सम्म पनि टुङ्गो लाग्न सकेको छैन । पार्टी २०७५ जेठ २ मा फर्किए पनि सुनसरीमा गत पुसमा संस्थापन पक्षको छुट्टै जिल्ला कमिटी बनेको थियो । जेठ २ मा फर्किए जिल्ला अध्यक्ष रमेश बस्नेत हुने छन् भने जेठ २ लाई आधार नमान्दा संस्थापन पक्षका रेवती रमण भण्डारी रहनेछन् ।
लामो समय विवादले गिजोलेको पार्टी अब केही हद सम्म अन्त्य हुने सङ्केत देखिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्लामा जेठ २ लागु हुने पर्ने वकालत गर्दै आएका धर्मराज निरौला इटहरीको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि भएपछि पार्टीको विवाद केही हद सम्म कम भएको आकलन गरिएको छ ।
केही दिन अघि मात्रै धरान उपमहानगर कमिटीको अधिवेशन दुई स्थानमा भएको थियो । निरौला संस्थापन पक्ष तिर नगई भीम आचार्य पक्षको महाधिवेशनमा सहभागी भएका थिए । जिल्लामा जेठ २ को रटान लाएका निरौला सोमबार इटहरीको कार्यक्रममा सहभागी भएपछि सुनसरीमा भीम आचार्य पक्ष लचिलो भएको प्रस्ट देखिएको छ ।
अर्को तर्फ गत पुसमा गठन भएको भण्डारीले नेतृत्व गरेको कमिटीले पूर्णता पाउने समेत सङ्केत देखिएको छ । इटहरीको शपथ ग्रहण कार्यक्रममा निरौलाले जिल्ला सह इन्चार्ज त्यस्तै जिल्ला पदाधिकारी भनेर सम्बोधन गरेका थिए । उनले सम्बोधन गरेका सह इन्चार्ज गत पुसमा संस्थापन पक्षले तैयुब हुसेनलाई तोकेको थियो । त्यस्तै जिल्ला पदाधिकारी अध्यक्ष रेवती रमण भण्डारी र उपसचिव लिलम बस्नेत सहभागी थिए । अध्यक्ष भण्डारी र उपसचिव बस्नेत गत पुसमा गठन भएको कमिटीबाट संस्थापन पक्षले जिम्मेवारी तोकेको थियो । निरौलाको आजको उपस्थितिले सुनसरीमा जेठ २ का अध्यक्ष बस्नेत नरहने अवस्था देखिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP