प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन । १० भदौ मा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले आजै प्रदेश प्रमुख सामु राजीनामा बुझाउने जानकारी पनि दिएका छन् ।
सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसुची थियो । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । तीमध्ये एक जना सांसद् गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् ।
उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको थियो । यो संख्यामा एक जना सभामुख पनि छन् । बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ । यसकारण आफुँले विश्वासको मत नपाउने अबस्था आएपछि उनले राजिनामा दिएका हुन् ।
प्रदेशसभामा काँग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ र संघीय लोकतान्त्रिक मन्चको एक जनासहित ५० पुगेको छ । यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो । पुग्दो बहुमतसहितको विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राइलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी गरेको छ । विपक्षी दलले आजै सबै सासदको हस्ताक्षर संकलन गरेका छन । प्रदेश प्रमुखले सरकार बनाउन आह्वान गर्ने बित्तिकै राजेन्द्र राई लाई मुख्यमन्त्री प्रस्ताव गरेर हस्ताक्षर बुझाउने तयारी रहेको काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP