एमाले इटहरी अधिवेशनमा जुम्लाका ‘बुढा’को कपडा व्यापारः ‘भोट उता, कोट यता’

दिप खबर
कार्तिक १४, २०७८

नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो । निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानै देखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिण तर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराई रहेका थिए । ‘भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफुँ तर्फ सोझ्याउन लागि परेका थिए ।
पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दसैँ सकिए लगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् । आफुँले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ गतेबाट सुरु भएको अधिवेशनमा उनी ५ दिन त्यही ठाउँमा व्यापार गर्दै आएका छन् । ५ दिनको अवधिमा उनले करिब ६० वटा भन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।

कोट सोचे भन्दा बढी बिक्री भयो तर उनी खुसी छैनन् । ४ हजार बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । अन्य सहरमा १२ सय देखि माथिमा बिक्री हुने कोट बिक्री नभएपछि १ हजारमा दिदैं आएको उनी बताउँछन् । ‘के गर्नु सर यही कोट काठमाण्डौमा २ हजार, २५ सय सम्म पनि बेचियो तर यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ ।’ उनी भन्छन् ‘आउन ४ हजार, जान ४ हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमा दिन्छु यसो गर्दा आफुँले किनेको दाम त पाइयो नि ।’
तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । साहुले केही दिँदैन जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफुँले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’ उनी भन्छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP