धरानमा एमालेको छुट्टाछुट्टै अधिवेशन, स्थानीय देखि केन्द्रिय नेता गुटमा सक्रिय

दिप खबर
कार्तिक ११, २०७८

सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेको दुई पक्षको छुट्टाछुट्टै नगर अधिवेशन भएपछि विवाद उत्कर्षमा पुगेको छ। जेठ २ अघिको नगर कमिटी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले निर्माण गरेको कमिटीले फरक फरक कमिटी विस्तार गरेको हो।

२ जेठअघिको कमिटीको नगर अधिवेशनले नारायण सुवेदीको नेतृत्वमा ८५ सदस्य कमिटी चयन गरेको छ। उपाध्यक्षमा राजमणि निरौला, सचिव पारस काङमाङ भने सहसचिवमा राजेन्द्र राई र दिवस बान्तवा चयन भएको अध्यक्ष सुवेदीले बताए।

त्यस्तै संस्थान पक्षले हर्कजंग एभेङलाई नगर अध्यक्ष बनाएको छ। उपाध्यक्षमा सविता चाम्लिङ, सचिवमा सुदेश चापागाईं, उपसचिवमा जोन राई र सुमन राई सर्वसम्मत चयन भएका छन्।

धरानमा संस्थापन पक्ष र २ जेठअघिको कमिटीका नेताहरूबीच सहमति हुन नसक्दा दुई वटा अधिवेशन भएको हो । यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो। यद्यपि, १४ वटा वडाहरूमा मिलेर एकै ठाउँमा अधिवेशन भए पनि ६ वटा वडामा भने अलग अलग कमिटी गठन भएको छ । १३ नम्बर वडा कमिटी दुवै महाधिवेशनमा गएन ।

उक्त वडाले दुवै पक्षलाई एकै स्थानमा अधिवेशन गर्न दबाब दिँदै आएको थियो । तर दुवै पक्षले फरक फरक अधिवेशन आह्वान गरेपछि उक्त वडा समावेश नभएको बताइएको छ ।

पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको क्षेत्रमा नेतृत्व तहले सहमति गर्ने कुनै बाटो नखोज्दा दुई अधिवेशन भएको एक नेताले बताए । उनले समयमै शीर्ष नेताले चासो दिएको भए धरानमा एमाले विभाजनको अवस्थामा नपुग्ने उनको भनाइ छ ।

जिल्ला नै अन्योल

जिल्लामा २ जेठलाई आधिकारिक मान्ने कि गत पुसमा बनेको नयाँ कमिटीलाई आधिकारिक मान्ने भन्ने विवाद अझैसम्म कायम छ । २ जेठका अध्यक्ष रमेश बस्नेत पार्टी पुरानै लयमा फर्किएकाले आफू नेतृत्व कमिटीले जिल्लामा आधिकारिक पाउनु पार्ने तर्क गर्छन् । उनले पार्टी एक ढिक्का रहेको बताउन पनि आफू अध्यक्ष रहेको कमिटीलाई पूर्णता पाउनुपर्ने बताउँदै आएका छन् ।

यता संसद् विघटन गरेपछि पार्टी अध्यक्ष ओली पक्षले रेवती रमण भण्डारीलाई अध्यक्ष बनाएर पार्टीको गतिविधि गर्दै आएको थियो । २ जेठका अध्यक्ष बस्नेतले पार्टीप्रति गहिरो क्षति पुर्‍याएकै कारण बस्नेत अध्यक्ष पदमा बस्नु नहुने भण्डारीको भनाइ छ । संकटको घडीमा जिल्ला कमिटीलाई चलायमान बनाउन आफू मातहतको कमिटी रहेको बताउँदै भण्डारी जिल्ला अध्यक्ष छोड्न तयार छैनन् ।

आफ्नो गुट जोगाउन नेताहरु सक्रिय

जिल्लाको विवादले नगर कमिटीमा पनि राम्रै प्रभाव पार्‍यो । धरानमा कमिटी विस्तार गर्न तथा पार्टीलाई मिलाउन स्थानीय, प्रदेश र केन्द्रका नेता लाग्नुपर्नेमा उनीहरू आफ्नो गुट कसरी बलियो बनाउन सकिन्छ भन्दै लागेका छन् ।

नारायण सुवेदी अध्यक्ष रहेको अधिवेशनमा प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेश सांसद सावित्री जोशी, केन्द्रीय सदस्य धर्मराज निरौला सहभागी थिए ।

त्यस्तै संस्थापन पक्षको अधिवेशनमा प्रदेश सदस्य मोतीराज सुनुवार, राजकुमार कार्की, मुरारी सुवेदी थिए । पार्टीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य भने दुवैतिरको अधिवेशनमा सहभागी भएनन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP