इटहरीका मिष्ठान्न भण्डारको ग्राहकमाथि गम्भीर लापरबाही, मरेको माहुरी दूधमा घोलेर बेच्छन् व्यापारी

दिप खबर
कार्तिक ८, २०७८

इटहरीका दुई मिठाई पसलमा अखाद्य वस्तु फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले दूषित मिठाई बनाउँदै गरेको, पकाउने स्थानमा फोहोर तथा दुर्गन्ध फैलिएको फेला पारेको हो ।

इटहरीको पूर्व लाइनमा रहेको विष्णु मिष्ठान्न भण्डार र इटहरी चौक नजिकै रहेको न्यु नटराज स्वीट्स चार्ट हाउसमा आलु,कोपी भुईँमा राखेको, दूधबाट बन्ने परिकारमा मरेको माहुरी समेत फेला परेको, दुर्गन्धित फोहोर बाहिर नफ्याँकेको पाइएको हो । अनुगमनका क्रममा उक्त अवस्था भेटेपछि विष्णु मिष्ठान्न भण्डारबाट रसबरी, दुध, पेडा लगायतका २० केजी अखाद्य बस्तु नष्ट गरिएको छ । उक्त भण्डारलाई नगद बिस हजार समेत जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उनले भने “हामीले दैनिक खानेकुरामा अति नै लापरबाही तथा उपभोक्ता प्रति गम्भीर नदेखिएपछि केही सामान तुरुन्त फ्याँक्न समेत लगाएका छौँ ।” ग्राहकलाई खानेकुरा देखाउँदा राम्रो देखाउने तर पकाउने भान्सा कोठा भने दुवै पसलमा अत्यन्त कमजोर रहेको पोखरेलले बताए । पहिलो पटक भएर थोरै जरिवाना गरिएको बताउँदै फेरी आउँदा सुधार नभए कडा कारबाही गर्ने उनको भनाई छ ।
त्यस्तै इटहरीको गोरखा डिपार्ट मेन्ट स्टोरको किचनमा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा साँघुरो कोठामा पकाउने र प्याकिङ गर्ने गरेको पाइएको छ । उक्त स्टोरलाई पकाउने र प्याकिङ गर्ने स्थान फरक फरक राख्न सुझाव दिएको पोखरेलले बताए । स्टोरको नाममा किचन चलाउन ऐन कानुनमा उल्लेख नभएकाले किचनलाई फरक कम्पनी दर्ता गरेर सञ्चालन गर्न समेत भनिएको छ ।
अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेल, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरीका खाद्य अनुसन्धान अधिकृत कासिंनाथ घिमिरे र इटहरी उपमहानगरपालिका उपभोक्ता संरक्षण हित अधिकृत नोवल किशोर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP