नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिवार इटहरी आउने भएका छन् । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । एमाले इटहरी उपमहानगरसमिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले इटहरीको कार्यकर्ता भेला महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष ओली भोलि (शनिवार) बिहान साढे ११ बजे इटहरी २ मा एमालेका पुराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छन् । ओम कोइराला नागरिक अभिनन्दन समितिद्वारा अग्रज मजदुर नेता,निष्ठावान्,निस्स्वार्थ व्यक्तित्व ओम कोइरालाको भव्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।
त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोकार्पण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । सो कार्यक्रम पछि दिउसो १ बजे ठुलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत् कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौँ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP