कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द भएको प्रदेश–१ कै नमुना पार्क इपील्याण्ड सञ्चालनमा आउने भएको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालन भएको २ महिनामा नै बन्द भएको पार्क भोलि अर्थात् (बिहीबार) बाट सञ्चालनमा ल्याउने भएको हो ।
फन पार्कका सञ्चालक पूर्व डिआइजी ज्ञानविक्रम साहले अब पूर्ण रूपमा पार्क सञ्चालन भएको बताए । उनले भने, ‘कोभिडका कारण अघिल्लै वर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो, दुई महिना सञ्चालन हुन नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आइपर्यो ।’
स्थानीय तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको रूपमा रहेको पार्कमा स्थानीय पर्यटकलाई विशेष छुट समेत रहेको उनले बताए । ‘हामीले स्थानीयलाई विशेष छुटको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘टिकट काटिसकेपछि यहाँ सबै प्रकारबाट मनोरञ्जन लिन सकिन्छ ।’
पार्कका अध्यक्ष भीम पौडेलले यस ठाउँको स्तरोन्नति र विकासका लागि आफूहरूले ठुलो लगानीमा पार्क सञ्चालनमा ल्याइएको बताए । ‘ठुलो लगानी भए पनि जम्मा दुई महिना मात्रै सञ्चालन भयो,’ उनले भने, ‘अहिले विशेष अफरसहित पार्क सञ्चालनमा ल्याएका छौँ ।’
उनका अनुसार ७ सय ५० रुपैयाँको टिकट अहिले एक हप्ताका लागि पाँच सय र तीन सय रहेको छ । पार्कमा पूर्वको सबैभन्दा ठुलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेकट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको उनको भनाइ छ ।
यस्तै, पार्कमा एकै पटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने भएकाले दुई महिनाको अवधिमै तीस हजार भन्दा बढी मानिसहरूले अवलोकन गरेको उनले बताए । केही सातायता भारतको जोगबनी, विहार जस्ता ठाउँबाट पनि पर्यटक आउने गरेको पौडेलले बताए ।
यसैबिच ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश–१ कै सबैभन्दा ठुलो इपील्याण्ड वाटर एण्ड एम्युजमेन्ट पार्कलाई कदरपत्र प्रदान गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP