नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु

दिप खबर
अशोज ६, २०७८

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ । इटहरीमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले भोली (बिहिबार) देखी एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए ।
छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखी अशोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।
इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए ।
क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो । देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई ब्यक्तिगत र सानो सानो समुहमा प्रशिक्षण गराउदा प्रभावकारी हुने भएकाले क्यान यस्को तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ । प्रशिक्षणमा प्रदेश दुइका ३ जना सहित झापा, मोरंग, र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक बिप्लव घोषले जानकारी दिए ।
मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP