सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले आफ्नो महान् पर्व करम पूजा हर्षोल्लासका साथ मनाएका छन् । सोमबार करमको अवसरमा उनीहरूले पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम गर्दै मनाएका हुन् । कार्यक्रममा सुनसरीका उराँवहरुले एक आसिमा शुभकामना साटासाट गरी र सांस्कृतिक कार्यक्रम र जमरा लगाएर करम पूजा सम्पन्न गरेका छन् । उराँव समुदायका पुरुषहरू धोती, गम्छाको पगरी र आफ्नै पहिरनमा र महिलाहरू रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाटीमा हँसुली, तिलहरी, पाखुरामा गोफ (गहना) सहित सजिएर सहभागी भएका थिए । महिलाहरूले रातो र सेतो सारी सहित सजिएर प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागी भएका थिए । उराँवहरुको महान् पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए ।
विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पूजाले उराँवहरुलाई एक आपसमा भाइचाराको सम्बन्ध जोड्ने भएकाले उक्त पर्वको महत्त्व रहेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरुको हक, अधिकार र पहिचानका लागि सबैको तर्फबाट सबै खालका सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।
यसैबिच उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा (मञ्च) मा आफ्नो परिहण सहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गरिरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले जानकारी दिए । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत नृत्य, पहिरन, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाँडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रर्दशन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाई छ । प्रतिष्ठानका सल्लाहकार जयकुमार उराँवले करम पूजा उराँव जातीको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरू बिचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाउँमा ल्याएर वर्तमानमा विगतका परम्पराहरूलाई संरक्षण गर्ने गरी करम पूर्व कार्यक्रम गरिएको बताए ।
यसैबिच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक बिदा समेत दिएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP