बिपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के

दिप खबर
भदौ २७, २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर उत्रेका स्वास्थ्यकर्मी १ हप्तापछि काममा फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समितिको धेरै माग पुरा भएको र बाँकी पुरा हुने प्रक्रियामा रहेको बताएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ । सङ्घर्ष समितिका सदस्य डा।पदम नेपालीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएको कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए । उनले उपकुलपतिसहितका पदाधिकारीहरूको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत् रहेको प्रष्ट पारे । साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत् रहने उनले बताए ।
उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक हप्ता अघिदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवाहरू बहिष्कार गरेको थियो । उनीहरूले नियमित सेवा ठप्प पारेर एक हप्तादेखि उपकुलपति कार्यालय अगाडी बिरामीलाई बाहिरैबाट सेवा दिएका थिए ।
सहमतिहरू पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने सङ्घर्ष समितिको भनाई छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP