वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयमा लगाइएको ताला फोडियो

वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयमा लगाइएको ताला फोडियो

दुई महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले फोडिदिएका छन् । ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि धरानमा रहेका क्रियाशील दल नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताहरूले प्रतिष्ठानका उपकुलपति कार्यालयमा लगाइएको ताला तोडेका हुन् ।

ताला फोड्ने क्रममा केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । त्यसक्रममा भएको दोहोरो झडपमा प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिए ।

उनले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताए । उनले बिरामीहरुमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि शुद्धीकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बताए ।