वीपी सुधारको माग राख्दै आएका संर्घष समितिद्धारा इमरजेन्सी, कोभिड अस्पताल र परीक्षा बाहेक सम्पुर्ण सेवा बन्द गर्ने निर्णय

दिप खबर
भदौ १७, २०७८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरणको माग गर्दै आन्दोलनमा रहेका स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षा बाहेकको सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।
उनीहरुले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वीपी सुधारका लागि गरेको आन्दोलन ८० दिन कट्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काम बहिस्कार गर्ने निर्णय गरेको सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए । सरकारले पटकपटक उच्च स्तरिय समिति बनाउने, समितिले प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता भएको प्रतिवेदन सरकारलाई दिने तर सरकारी पक्षले कारबाही नगरेको भन्दै अर्काे चरणको आन्दोलनमा होमिएको संर्घष समितिको भनाई छ ।
सङ्घर्ष समितिका संयोजक डा.सुर्य प्रसाद रिमालले आन्दोलनमा उठाएको मुद्दाहरूलाई सरकारले लिपिबद्ध गर्दै सम्झौता गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेकोले अब आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा छोड्ने बताए । अख्तियारले पटकपटक छापामार्ने तर कारबाही कसैलाई पनि नगर्ने प्रवृतिले प्रतिष्ठान धरापमा परेको भन्दै अर्काे चरणमा आन्दोलन अघि बढाइएको उनको भनाई छ ।
उनले सरकारले कोभिड महामारीको बेलामा पनि स्वास्थ्य मन्त्री नियुक्ति नगरेको बताउँदै अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध पनि हुने बताए ।
प्रतिष्ठानमा बेथिती बढेको, आर्थिक अनियमितता एवं भ्रष्टचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरु विगत ८० दिन यता आन्दोलनरत छन् । आन्दोलन चर्कदै गएपछि सरकारले उच्चस्तरीय छानबिन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्त लागेको छ । प्रतिवेदनले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरेको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गर्दै पदाधिकारीहरुलाई पदमुक्त गर्ने भनेपनि कार्यान्वयन भएको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP