इटहरी उपमहानगरले ल्यायो, घरबाटै कर तिर्ने सुविधा

इटहरी उपमहानगरले ल्यायो, घरबाटै कर तिर्ने सुविधा

सुनसरीको इटहरी उपमहानगरपालिकाले अब घरमै बसेर कर तिर्न सकिने ब्यबस्था मिलाएको छ ।

मोवाइलको इसेवा एपबाटै सम्पति कर, ब्यवसाय कर,वहाल कर तिर्न सकिने भएको हो । नगर प्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका छन् । घुडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरिन् । नगर प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणा अन्र्तगत अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरवाटै कर तिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुटकिलो र पारदर्शिताको अंग रहेको बताए । राजश्व प्रशासन शाखा प्रमुख नविन भटटराईले मोवाइलवाटै कति कर तिर्न छ भनेर हेर्न, लेखाजोखा गर्न र तिरिसकेपछि विल प्रिन्ट गर्न सकिने बताए । कर भुक्तानी गरे पछि सम्वन्धित ब्यक्तिको इमेलमा विल आउने छ । मोवाइलमा तत्काल जानकारी आउने छ ।

यसरी तिर्न सकिन्छ घरबाटै कर

सवैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुदाँ अनिवार्य रुपमा मोवाइल नम्वर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ । त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ । इटहरी उपमहानगरपालिकाको www.itaharimun.gov.np वेवसाइट मा जानुपर्छ । त्यहाँ विद्युतीय शुसासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ ।

नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसन पछि युजरनेभ र पासवर्ड प्राप्त हुन्छ । त्यहि युजरनेम र पासवर्ड प्रयोग गरि संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरि कर तिर्न सकिन्छ । आफनो ब्यक्तिगत विवरण सम्पति विवरण, ब्यवसाय सम्वन्धि विवरण, वहालको विवरण, करतिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।