‘तीन लाख सिरानीमा हालेर सुत्नुपर्ने’ खोटाङ, ऋण काढेर हेलिकोप्टर चार्टर गर्छन् विरामी

‘तीन लाख सिरानीमा हालेर सुत्नुपर्ने’ खोटाङ, ऋण काढेर हेलिकोप्टर चार्टर गर्छन् विरामी

कोभिड–१९ बाट संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई २ लाख ३० हजारमा माउण्टेन हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।

संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा अक्सिजनको मात्रा घटेपछि संक्रमितलाई काठमाडौं पुर्‍याइएको हो । संक्रमितलाई टिचिङ अस्पतालमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।

कोभिड–१९ को महामारीका क्रममा खोटाङका दर्जनौं संक्रमित अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । जिल्लामा कोभिड–१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउनका लागि लाखौंमा हेलिकोप्टर चार्टर हुने गरेको छ । अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजानेक्रममा पनि कम्तीमा २ लाखमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । जेठ ५ गतेयता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि ९र१० पटक हेलिकोप्टर चार्टर भइसकेका छन् । कतिपय तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका बिरामी बोक्नका लागि हेलिकोप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीय बताउँछन् ।

अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्ने आर्थिक हैसियत सबै परिवारको छैन । आर्थिक अवस्था मजबुत भएका वा ऋणपान गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउँछन् । आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘तीन लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रुपमा चिनाउने गरिएको छ ।