दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्ध इटहरीमा राँके जुलुस प्रदर्शन

दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्ध इटहरीमा राँके जुलुस प्रदर्शन

शेर बहादुर देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ इटहरी उपमहानगर कमिटी र अनेरास्ववियुले राँके जुलुस प्रदर्शन गरेको छ ।
बुधवार साँझ इटहरी उपमहानगर गेट देखि चौक सम्म राँके जुलुस लिएर राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शन गरेको हो । उनीहरूले परमादेश सरकार मुर्दावाद, जनघाती सरकार मुर्दावाद लगायतका नारा लगाउँदै सरकार विरुद्ध चर्को विरोध गरेका थिए ।
विरोध सभामा बोल्दै युवा सङ्घ सुनसरी जिल्ला अध्यक्ष अरुण गुरुङले परमादेशबाट आएको सरकारले आफ्नो लाचार प्रस्तुत गरेको टिप्पणी गरे । उनले नि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ४० प्रतिशत सांसद भए पार्टी फुटाउने प्रावधान ल्याउँदा गाली गर्ने देउवाले २० प्रतिशत सांसदले पार्टी फुटाउने प्रावधान ल्याउनु लज्जाको विषय भएको उनको भनाई थियो । अनेरास्ववियुका केन्द्रीय सदस्य जीवी गजलले कोरोनाको महामारीमा जनतालाई खोप दिलाउनुको सट्टा एकअर्का पार्टी फुटाउनुले सरकार जनताको हितमा नरहेको तर्क गरे । उनले अफ्गानिस्तानमा रोई रहेका नेपालीलाई उद्धार गर्नु पर्ने सरकारले देशमा तमासा देखाउन थालेको बताए ।
विरोध सभामा बाल्दै युवा सङ्घ इटहरी उपमहानगर कमिटी अध्यक्ष कमल दाहालले सरकारको गलत प्रवृत्तिका विरुद्ध सडकमा आउन बाध्य भएको बताए । उनले जनतालाई कोरोना महामारीमा सहयोग गर्नुको सट्टा पार्टी फुटाउन लागेको भन्दै चर्को आलोचना गरे । देउवा सरकारले गरेका गलत कार्यका विरुद्ध अझ सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिए ।

बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।