सप्तरी जिल्लाको जिता नदी तटबन्ध भत्काएर बस्तीमा पस्दा दुई सय घर डुबानमा परेका छन् । जिता नदीको पश्चिम तटबन्धन भत्किएपछि तिलाठीको वडा नम्बर ७ मंसापुर, वडा नम्बर ४ का तिलाठी, वडा नम्बर ५ का वर्साईन र कुसाहाका दुई सय घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।
सिंहकाअनुसार बाढीबाट दलित बस्ती राम, सदा र खंग बढी प्रभावित भएको छ । बाढीले सयौं बिघामा लगाइएको धानबाली बगाएको छ । क्षतिको विवरण आउने क्रम जारी छ । तत्काल राहत सामाग्री उपलब्ध गराउने तयारी भइरहेको अध्यक्ष सिंहले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन संघका प्रमुख राजेश झाका अनुसार फुसको छाना भएको ६ वटा घर भत्किएको छ ।
‘कति गरौं, बाढीको कुरा । कहिले जिता खोला भत्किएर त कहिले कहाँबाट बाढी पस्छ । यो ज्यानमारा बाढीले हामीलाई ढुक्क भएर बाँच्न दिँदैन,’ स्थानीय ३९ वर्षीया सुनिता सरदारले भनिन् । खाना पकाउँदै गर्दा जिता नदीको बाढी एक्कासी बस्तीमा पसेपछि छोराछोरीसहित परिवारै भोकै बसेको उनले सुनाइन् ।
उनले थपिन्, दुःख गरेर वर्ष दिन खान पुग्नेगरी लगाएको धानबालीसमेत बाढीले बगाएर लगेपछि मर्नु न बाँच्नु भएको छ । अहिले बाढीभन्दा पनि वर्षभरी के खाने चिन्ताले सताएको छ ।’
स्थानीय महेन्द्र ठाकुरले भने, ‘लगातारको बर्षाले एक्कासी तटबन्ध भत्किएर थाहै नपाई बस्तीमा बाढी बसेपछि पाकेको, पकाउँदै गरेको खाना कसैले खान पाएन । अन्नपातसमेत जोगाउन सकिएन । घरघरमा तीन, चार फिट पानी पसेको छ । ट्वाइलेट, ट्युबवेलसमेत डुबेको छ । पानी खान, दिसापिसाब गर्नसमेत समस्या छ ।’
सोही ठाउँकी ३४ वर्षिया बवितादेवी सरदारको चिन्ता डुबानमा बालबच्चा र सामान जोगाउने चिन्ता छ । आफ्नो खाद्यान्न सामग्रीसमेत भिजेर काम नलाग्ने भएको उनको भनाई छ ।
तिलाठी कोइलाडी गाउँपालिकामा स्थानीयले प्रत्येक बर्ष बाढीबाट प्रभावित भएर ठूलो क्षति ब्यहोर्दै आएका छन् । स्थानीय रुपा झा दीर्घकालीन पूर्वतयारी आवश्यक भएको बताउँछिन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP