प्रदेश १ का अस्पताल कोरोनाका बिरामीले भरिभराउ, पछिल्लो एक हप्तामा ६० जनाले ज्यान गुमाए

प्रदेश १ का अस्पताल कोरोनाका बिरामीले भरिभराउ, पछिल्लो एक हप्तामा ६० जनाले ज्यान गुमाए


प्रदेश १ मा कोरोना सङ्क्रमणका बिरामीले अस्पताल भरिभराउ हुन थालेका छन् । कोरोना सङ्क्रमण दर बढेसँगै विशेष गरी श्वासप्रश्वासमा समस्या भएका, निमोनिया भइसकेको, अक्सिजन चाहिने बिरामीले अस्पतालमा भेन्टिलेटर, आइसियुका बेड खाली छैनन् । २ हप्ता अघि सम्म सामान्य प्रकृतिका बिरामी आउने गरे पनि अहिले अस्पतालमा गम्भीर अवस्थामा बिरामी आउने गरेको अस्पतालहरूले जनाएका छन् । तराईका जिल्ला सुनसरी, झापा, मोरङमा सङ्क्रमण दर उच्च छ । तिनै जिल्लाले निषेधाज्ञा लगाएका छन् । तर नामको मात्रको निषेधाज्ञाले कोरोना रोकथाम भन्दा पनि झन् बढेको देखिएको छ । पछिल्लो एक हप्तामा प्रदेश १ मा मात्रै ६ हजार बढी सङ्क्रमित थपिएका छन् भने ६० जनाले ज्यान गुमाएका छन् ।
कोभिडको उपचार गराउने सरकारी अस्पताल कोशि अस्पताल, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापा रहेका छन् । प्रदेश सरकारको आफ्नै लगानीमा सञ्चालनमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हाल ९६ बेड रहेका छन् । २१ बेड आइसियु, १५ वटा भेन्टिलेटर बेड छन् । अस्पतालका अरू बेड खाली भए पनि आइसियु र भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने बिरामीको सङ्ख्या बढेको अस्पतालका संयोजक बैजनाथ साहले बताए । उनले अन्य समय भन्दा पछिल्लो समय सङ्क्रमण दर बढको बताए ।
तराई जिल्ला मात्रै हैन पहाडी तथा हिमाली जिल्लामा पनि सङ्क्रमण दर उच्च छ । सिमानाकाबाट सर्वसाधारणको खुलेआम आउजाउ हुनु, बिरामी भएपछि मात्रै अस्पताल चेकजाँच गराउन जानु तथा सरकारी स्तरबाट ठोस कदम नचालिनु पर्ने सङ्क्रमण दर बढेको छ । अन्य समय दैनिक १० जना सम्म भर्ना हुने अस्पतालमा अहिले बिरामीको भर्ना सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा सरकारी ४ अस्पताल सहित ११ अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भई राखेको छ । सोमबार सम्म १४३ सङ्क्रमित जेनेरल बेड, १३४ जना आइसियु, ५६ जना भेन्टिलेटर, ५५ जना आइसोलेसन बेड, एचडियुमा २६० सङ्क्रमितको उपचार भइरहेको छ ।