बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यु

बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यु

जुम्लामा बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका– ७, का ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देश छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीले बिर्खे रावत जैसरीका जेठाजु रहेको बताए । ‘सेतक चिनी टिपेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा बाढीले बगाएको हो,’ उनले भने, ‘उनीहरू खोला तर्ने र थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरूलाई बगाएको रहेछ ।’

उनीहरू साउन २८ गते साँझ घर फर्किएका थिए । राति अबेरसम्म पनि घर नपुगेपपछि परिवारका सदस्यले खोजी थालेका थिए । शुक्रबार टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूको शव फेला पारेको थियो ।