लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै इटहरी, एक वर्षमा ४९ जना पक्राउ

दिप खबर
साउन २२, २०७८

गत साउन १८ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ४ मा बस्ने ४८ वर्षीय सञ्जयकुमार चौधरीलाई पक्राउ गर्यो । उनलाई लागु औषध ओसारपसारमा लागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो
उनको शरीर खानतलासी गर्दा साथबाट नाइट्रोभेट १० लेखिएको पत्तामा ८ वटा ट्याब्लेट र प्रतिबन्धित औषधी स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको ३ वटा पत्तामा रहेको २० वटा ट्याब्लेट मध्ये ६ वटा खाइमासी बाँकी रहेको १४ वटा ट्याब्लेट फेला पर्यो ।
यस्तै, उनको घर तथा घर वरपर खानतलासी गर्ने क्रममा घरदेखि पश्चिमतर्फ शौचालय नजिक बाँस घारीको बिचमा खाल्डो खनेर राखिएको लागू औषध समेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । खाल्डोमा डाइलाइक्स डी।सी १०० एमएल लेखिएको ३३ बोतल, ड्रम नजिकै प्लास्टिकमा लुकाई छिपाई राखेको नाइट्रोभेट १० लेखिएको पत्तामा ३० वटा ट्याब्लेटको दरले १० पत्ता, प्रतिबन्धित औषधी स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको पत्तामा २४ वटा ट्याब्लेटका दरले १० पत्ता फेला पारेको इटहरी प्रहरीले जनाएको छ ।
यस्तै, स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको थप १६ वटा ट्याब्लेटका दरले ५ पत्ता, सोही ब्यहोरा लेखिएको अर्को पत्तामा ८ वटा ट्याब्लेटको दरले ४ पत्ता लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । गत असार महिनामा ९ दिनको अवधिमा इलाका प्रहरीले १५ जनालाई विभिन्न समयमा पक्राउ गर्यो । उनीहरूका साथबाट महँगोमा पहाडी जिल्ला तिर बिक्री हुने लागु औषध पक्राउ गरेको प्रहरीको भनाई छ । भारतीय बजार नजिकै हुनु, बजार एरियामा सिसी क्यामेरा नहुनु जस्ता विषयले इटहरीलाई लागु औषधको ट्रान्जिट पोइन्ट नै बन्दै आएको छ । विशेष गरी छोटो समयमा धेरै पैसा कमाउने उद्देश्यले भर्खर ११ ÷१२ तथा स्नातक तह पढ्दै गरेका युवा फस्ने गरेका छन् । पहाडी जिल्ला खोटाङ, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम लगायतका जिल्लामा राम्रो दाम पाउने भएकाले इटहरीलाई केन्द्रमा राखेर ओसारपसार गर्ने गरेको प्रहरीको बुझाई छ ।
आर्थिक वर्ष २०७७/७८ मा वृद्धि
आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७८ मा लागु औषधको कारोबार बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ७६/७७ मा ३१ जना पक्राउ परेका थिए भने ७७/७८ मा ४९ जना पक्राउ परेका छन् । यस मध्ये २१ जना २१ देखि २५ वर्ष उमेर समूहका छन् । आर्थिक वर्ष ७६/७७ मा २४ वटा मुद्दा दर्ता भएका थिए भने ७७/७८ मा २७ वटा दर्ता भएका छन् । त्यस्तै लागु औषध समेत बढेको छ । ७६/७७ मा ब्राउन सुगर १३ ग्राम ४० मिलिग्राम पक्राउ गरेको थियो भने ७७/७८ मा २९९ ग्राम २४० मिलिग्राम पक्राउ गरेको छ । नाइट्रोभेट १७०१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन १८६० क्याप्सुल, स्पास्पेन ३३२० ट्याब्लेट, नाइट्रोपाम ४५० ट्याब्लेट, ट्रामोडोल १२८६० क्याप्सुल लगायत अन्य लागु औषध पक्राउ गरेको प्रहरीको तथ्याङ्क छ । गत वर्षको तुलनामा यो वर्ष वृद्धि भएको देखिएको छ ।
युवा वर्ग फस्दै
लामो समय कोरोना भाइरसका कारण विद्यालय, कलेज बन्द छन् । धेरै कलेजले अनलाइन कक्षा समेत सञ्चालन गरिरहेका छन् । तर त्यही अनलाइन कक्षाको फाइदा उठाउँदै युवा वर्ग फस्ने गरेको प्रहरी नायव उपरीक्षक केसीको भनाई छ । मोबाइलबाट आफ्नो सर्कल पत्ता लगाउने र छोटो समयमा पैसा कमाउने लोभले फस्ने गरेको उनले बताए । अनलाइन कक्षाको नाममा आमाबुबाले आफ्नो छोराछोरी के पढ्दै छन् । के सिक्दै छन् । भन्दै बेला बेला चेक गर्नु पर्ने केसीको भनाई छ । सुरक्षाकर्मीको मात्रै भर पर्नु भन्दा आफ्नो सन्तानलाई हेरचाह गर्नु पहिलो जिम्मेवारी बुवा आमाको रहेकाले सोधपुछ गर्नु पर्ने उनको धारणा छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP